दशैं–तिहारमा स्वास्थ्यको ख्याल गरौँ, चाडपर्वसँगै नसर्ने रोगबाट पनि सचेत बनौँ

किसुनलाल महतो दशैं र तिहार नेपाली समाजका महत्वपूर्ण चाडपर्व हुन् । यी पर्वले परिवार, आफन्त र साथीभाइबीच भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर दिन्छन् । रोजगारी, अध्ययन वा अन्य कारणले घरबाट टाढा रहेका परिवारका सदस्यहरू पनि यस समयमा एकै ठाउँमा भेला हुन्छन् । चाडपर्वमा रमाइलो, भेटघाट र खानपान स्वाभाविक कुरा हुन् । तर स्वास्थ्यलाई […]

दशैं–तिहारमा स्वास्थ्यको ख्याल गरौँ, चाडपर्वसँगै नसर्ने रोगबाट पनि सचेत बनौँ

किसुनलाल महतो

दशैं र तिहार नेपाली समाजका महत्वपूर्ण चाडपर्व हुन् । यी पर्वले परिवार, आफन्त र साथीभाइबीच भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर दिन्छन् । रोजगारी, अध्ययन वा अन्य कारणले घरबाट टाढा रहेका परिवारका सदस्यहरू पनि यस समयमा एकै ठाउँमा भेला हुन्छन् । चाडपर्वमा रमाइलो, भेटघाट र खानपान स्वाभाविक कुरा हुन् । तर स्वास्थ्यलाई बेवास्ता गरियो भने चाडपर्वको खुसी स्वास्थ्य समस्यामा परिणत हुन सक्छ । विशेषगरी समुदायमा बढ्दै गएका नसर्ने रोग (Non-Communicable Diseases) बाट बच्न चाडपर्वमा पनि सावधानी अपनाउन आवश्यक छ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मिर्गौला रोग, क्यान्सर, मोटोपना तथा दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू नसर्ने रोगका प्रमुख उदाहरण हुन् । यी रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैनन् । तर अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, सुर्तीजन्य पदार्थ, मदिरा, अत्यधिक नुन तथा चिनीको सेवन, मोटोपना र तनावजस्ता कारणले यिनको जोखिम बढ्न सक्छ । दशैं–तिहारमा यस्ता जोखिमकारकको मात्रा बढ्न सक्ने भएकाले चाडपर्वसँगै नसर्ने रोगको रोकथाम र नियन्त्रणमा पनि ध्यान दिऔँ ।

चाडपर्वमा खानपानमा संयम किन आवश्यक छ ?
दशैं–तिहारमा मासु, मिठाई, सेलरोटी, पुरी, अचार, तारेका परिकार तथा चिल्लो खानेकुरा सामान्यभन्दा बढी खाने गरिन्छ । यी परिकार स्वादिष्ट भए पनि धेरै खाँदा शरीरमा आवश्यकताभन्दा बढी क्यालोरी, नुन, चिनी र बोसो पुग्न सक्छ । एकैपटक धेरै खाने, बारम्बार खाने र लामो समयसम्म शारीरिक गतिविधि नगर्ने बानीले तौल बढ्ने, रक्तचाप तथा रक्तशर्करा बढ्ने र मुटु तथा मेटाबोलिक स्वास्थ्यमा असर पर्ने जोखिम हुन्छ । मनपर्ने परिकार खानै हुँदैन भन्ने होइन, मात्रा र सन्तुलनमा ध्यान दिनुपर्छ । थोरै–थोरै खाने, खाना खानुअघि सलाद वा सागसब्जी खाने, पर्याप्त पानी पिउने, धेरै तारेका र चिल्लो परिकार कम खाने, खाना खाएपछि हल्का हिँडडुल गर्ने ।
उच्च रक्तचाप भएका व्यक्तिले विशेष सावधानी अपनाऔँ
उच्च रक्तचापमा धेरैजसो स्पष्ट लक्षण नदेखिन सक्छ । त्यसैले “मलाई केही भएको छैन” भनेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन्छ । धेरै नुन, प्रशोधित तथा प्याकेटमा पाइने खानेकुरा, अचार र चिल्लो खानाले रक्तचाप नियन्त्रणमा कठिनाइ हुन सक्छ ।
उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने, धेरै नुनिलो खाना कम गर्ने, अचार तथा प्रशोधित खानेकुरा सीमित गर्ने, मदिरा र धूम्रपानबाट टाढा रहने, सम्भव भएसम्म रक्तचाप नियमित जाँच गर्ने, नियमित हिँडडुल तथा शारीरिक गतिविधि गर्ने, चाडपर्व भनेर नियमित औषधि बन्द गर्नु हुँदैन ।

मधुमेह भएका व्यक्तिले मिठाईमा विशेष ध्यान दिऔँ
तिहारमा मिठाई, सेलरोटी तथा अन्य गुलियो परिकार बढी खाने गरिन्छ । मधुमेह भएका व्यक्तिका लागि यस्तो समयमा खानपान नियन्त्रण गर्नु चुनौतीपूर्ण हुन सक्छ ।
“थोरै मात्र हो” भनेर बारम्बार मिठाई खाने बानीबाट पनि सावधान रहनुपर्छ । चिनी र गुलियो पेय पदार्थ कम गर्नुका साथै नियमित औषधि सेवन गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार रक्तशर्करा परीक्षणमा पनि ध्यान दिनुपर्छ ।
मधुमेह भएका व्यक्तिले मिठाई कम, चिनीजन्य पेय कम, सन्तुलित खाना, नियमित औषधि, नियमित शारीरिक गतिविधिलाई प्राथमिकता दिनुपर्छ ।
परिवारका सदस्यले पनि मधुमेह भएका व्यक्तिलाई धेरै मिठाई खान आग्रह गर्नुको सट्टा स्वास्थ्य अनुकूल विकल्प रोज्न सहयोग गर्नुपर्छ ।

मुटुको स्वास्थ्यलाई प्राथमिकता दिऔँ
दशैंमा मासु तथा तिहारमा तारेका र चिल्लो परिकारको सेवन बढ्न सक्छ । त्यसैले मुटुको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्छ । अत्यधिक बोसोयुक्त मासु, धेरै चिल्लो खाना, धेरै नुन, धूम्रपान, मदिरा, मोटोपना र शारीरिक निष्क्रियता मुटुका लागि जोखिमकारक हुन् । मुटुरोग भएका वा जोखिममा रहेका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपान गर्नुपर्छ । छाती दुख्ने, छाती भारी हुने, सास फेर्न गाह्रो हुने, असामान्य पसिना आउने वा अचानक असहज महसुस भएमा घरमै नबस्नुहोस् । तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

मिर्गौलाको स्वास्थ्य पनि नबिर्सौँ
धेरै नुन, अनियन्त्रित रक्तचाप, मधुमेह तथा आफूखुसी औषधि सेवनले मिर्गौलाको स्वास्थ्यमा असर पर्न सक्छ । दीर्घरोग भएका व्यक्तिले चाडपर्वमा पनि नियमित उपचारलाई निरन्तरता दिनुपर्छ । विशेषगरी दुखाइ कम गर्ने औषधिलगायतका औषधि आफूखुसी पटक–पटक प्रयोग गर्नु हुँदैन । मिर्गौला रोग भएका व्यक्तिले पानी, नुन, प्रोटिन वा अन्य खानपानका विषयमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह पालना गर्नुपर्छ ।

क्यान्सरबाट बच्न जोखिमकारक घटाऔँ
क्यान्सरका सबै कारण हाम्रो नियन्त्रणमा नहुन सक्छन् । तर धेरै जोखिमकारकलाई कम गर्न सकिन्छ । सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, धूम्रपानबाट टाढा रहने, मदिरा सेवन नगर्ने वा कम गर्ने, स्वस्थ तौल कायम गर्ने, शारीरिक रूपमा सक्रिय रहने र असामान्य स्वास्थ्य लक्षणलाई लामो समय बेवास्ता नगर्ने जस्ता व्यवहारले क्यान्सरको जोखिम घटाउन सहयोग गर्छन् । चाडपर्वलाई सुर्तीजन्य पदार्थ छोड्ने संकल्प गर्ने अवसर पनि बनाऔँ ।

मदिरा र सवारी : रमाइलो होइन, जोखिम
दशैं–तिहारमा सडक दुर्घटनाको एउटा प्रमुख कारण मदिरा सेवन गरेर सवारी चलाउनु पनि हो । मदिरा सेवन गरेपछि निर्णय गर्ने क्षमता, प्रतिक्रिया जनाउने गति र सवारी नियन्त्रणमा असर पर्छ । त्यसैले “मदिरा सेवन गरौँला भने सवारी नचलाऔँ, सवारी चलाउनुपरे मदिरा सेवन नगरौँ” । हेल्मेट र सिट बेल्ट अनिवार्य प्रयोग गरौँ । गति नियन्त्रण गरौँ र ट्राफिक नियम पालना गरौँ । यात्रामा चालकलाई अनावश्यक दबाब नदिऔँ । थकित चालकलाई आराम गर्न प्रोत्साहित गरौँ ।

शारीरिक गतिविधि नछोडौँ
चाडपर्वमा खानपान बढ्ने तर शारीरिक गतिविधि घट्ने समस्या सामान्य हो । लामो समय टेलिभिजन, मोबाइल वा सामाजिक जमघटमै बसेर बिताउनुको सट्टा दैनिक हिँडडुल गरौँ । खाना बढी खाएको दिन शारीरिक गतिविधि पनि बढाउने बानी बसालौँ । उमेर र स्वास्थ्य अवस्थाअनुसार नियमित हिँडडुल, घरायसी काम वा अन्य उपयुक्त शारीरिक गतिविधिलाई निरन्तरता दिन सकिन्छ ।

मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै हिस्सा हो
चाडपर्वमा सबै व्यक्ति समान रूपमा खुसी वा सहज अवस्थामा नहुन सक्छन् । आर्थिक बोझ, पारिवारिक समस्या, वैदेशिक रोजगारीका कारण परिवारबाट टाढा हुनु, एक्लोपन वा अन्य कारणले तनाव बढ्न सक्छ । परिवारमा एक अर्काको कुरा सुन्ने, सम्मान गर्ने र आवश्यक सहयोग गर्ने वातावरण बनाऔँ । मानसिक समस्या कमजोरी होइन, स्वास्थ्यकै विषय हो । कसैमा लामो समयसम्म निराशा, अत्यधिक चिन्ता, सामाजिक रूपमा अलग हुने वा असामान्य व्यवहार देखिएमा स्वास्थ्यकर्मी वा सम्बन्धित स्वास्थ्य सेवाबाट सहयोग लिन प्रोत्साहित गरौँ ।

दशैं–तिहारमा नसर्ने रोगबाट बच्न १० प्रतिबद्धता
१. अत्यधिक नुन, चिनी र चिल्लो पदार्थको सेवन घटाउँछु ।
२. सन्तुलित भोजन र पर्याप्त पानीलाई प्राथमिकता दिन्छु ।
३. मदिरा तथा सुर्तीजन्य पदार्थबाट टाढा रहन्छु ।
४. मदिरा सेवन गरेर कहिल्यै सवारी चलाउँदिनँ ।
५. नियमित औषधि सेवन गर्ने भए चाडपर्वमा पनि औषधि छुटाउँदिनँ ।
६. आफ्नो रक्तचाप, रक्तशर्करा तथा स्वास्थ्य अवस्थाबारे सचेत रहन्छु ।
७. दैनिक हिँडडुल वा उपयुक्त शारीरिक गतिविधिलाई निरन्तरता दिन्छु ।
८. बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीको विशेष ख्याल गर्छु ।
९. मानसिक तनावमा रहेका परिवार तथा समुदायका सदस्यलाई साथ र सहयोग गर्छु ।
१०. असामान्य स्वास्थ्य लक्षण देखिएमा स्वास्थ्य संस्थामा समयमै सम्पर्क गर्छु ।
अन्त्यमा
दशैं तिहार हाम्रो संस्कृति र सामाजिक जीवनका अमूल्य पर्व हुन् । चाडपर्वको वास्तविक खुसी स्वस्थ शरीर, स्वस्थ मन र सुरक्षित वातावरणमा मात्र अनुभव गर्न सकिन्छ । यस वर्षको दशैं तिहारमा खानपानमा संयम, नियमित औषधिमा निरन्तरता, शारीरिक गतिविधिमा सक्रियता, सुर्तीजन्य पदार्थबाट दूरी, मदिराबाट सावधानी र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिऔँ । नसर्ने रोग एकैदिनमा उत्पन्न हुने समस्या होइन । यसको दैनिक जीवनशैली र व्यवहारसँग गहिरो सम्बन्ध हुन्छ । त्यसैले चाडपर्वमा मात्र होइन, वर्षभरि नै स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ ।

चाडपर्व मनाऔँ, तर स्वास्थ्य नबिर्सौँ ।
स्वाद लिऔँ, तर सन्तुलन नबिर्सौँ ।
रमाइलो गरौँ, तर सुरक्षा नबिर्सौँ ।
आफू स्वस्थ रहौँ, परिवारलाई पनि स्वस्थ राखौँ ।
“स्वस्थ नागरिक, स्वस्थ परिवार र स्वस्थ समाज हाम्रो साझा जिम्मेवारी ।”
स्वस्थ, सुरक्षित, सभ्य एवं उल्लासमय बडादशैं तथा तिहारको हार्दिक शुभकामना !

(लेखक किसुनलाल महतो दोरम्बा शैलुङ गाउँपालिकाका जनस्वास्थ्य अधिकृत हुन्)

समाचार का थप समाचार