तीन दिने बाख्रा पालन तालिमः ‘व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने रहेछ’– किसान

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले संचालन गरेको तीन दिने बाख्रा पालन तालिमले आफूहरुलाई व्यवसायिक बाख्रा पालनमा सहयोग पुगेको बाख्रा पालक किसानहरुले बताएका छन् । आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारलाई सहयोग पुर्‍याउने गरी सुरु गरिएको तालिम समापन कार्यक्रममा सहभागीहरुले तालिमको अनुभब सुनाउँदै तीन दिनको बसाइमा आफूहरुले बाख्रा पालन गर्दा एउटा किसानले […]

तीन दिने बाख्रा पालन तालिमः ‘व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने रहेछ’– किसान

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले संचालन गरेको तीन दिने बाख्रा पालन तालिमले आफूहरुलाई व्यवसायिक बाख्रा पालनमा सहयोग पुगेको बाख्रा पालक किसानहरुले बताएका छन् । आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारलाई सहयोग पुर्‍याउने गरी सुरु गरिएको तालिम समापन कार्यक्रममा सहभागीहरुले तालिमको अनुभब सुनाउँदै तीन दिनको बसाइमा आफूहरुले बाख्रा पालन गर्दा एउटा किसानले गर्नु पर्ने धेरै कुराहरु सिकेको बताएका हुन् ।

आफूले सिकेको कुरा सुनाउँदै बाख्रा पालक किसान कुमार सोडारीले भने– ‘यो तालिम हामी जस्ता किसानको लागि धेरै उपयोगी रहेछ । तीन दिनको बसाइमा पाठापाठी हुर्काउने देखि डाले घाँस व्यवस्थापन सम्मका कुरा सिकेका छौँ । यहसले हामी बाख्रा पालक किसानलाई व्यवसायिक बाख्रा पालनमा ठूलो सहयोग पुर्‍याउँछ । यस्ता तालिम परियोजनाले अझ लामो समय थप गरेर फेरि गर्न सके हामीलाई थप सहयोग पुग्छ ।’

तालिमले आफूलाई थप व्यवसायिक बनाउने विश्वास राख्दै अर्का किसान दामोदर पाण्डेले भने– ‘मैले बाख्रा पालन सुरु गरेको दुई वर्ष भयो, अहिले सम्म यस्तो तालिम लिएको थिइँन । आफैले सुरु गरेको बाख्रा पालनलाई थप सहयोग पुग्ने तालिम लिन पाउँदा धेरै खुसी छु । यो बसाइमा धेरै कुरा सिक्ने मौका मिल्यो । तालिममा व्यवसायिक बन्न प्रेरणा मिल्ने धेरै कुरा सिकेका छौँ । यहाँ सिकेका कुरालाई हामीले व्यहारमा लागु गर्‍यौँ भने हामी सफल बन्न सक्छौँ ।’

बाख्रा जोन संचालन समन्वय समितिका अध्यक्ष एवं तालिम समापन कार्यक्रमका अध्यक्ष भिम कुमार श्रेष्ठले तीन दिन सम्ममा सिकेका कुरालाई किसानले व्यवहारमा उतारेर काम गर्न सके व्यवसाय बृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बाख्रा पालनबाट राम्रो आम्दानी लिन सकिने भएकाले अब सबै बेरोजगार बसेका युवाहरु बाख्रा पालनमा लाग्न जरुरी रहेको बताए ।

परियोजना कार्यन्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैह्रेले किसानहको माग अनुसार तालिम आयोजना गरिएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न किसानलाई आग्रह गरे । प्रमुख गैह्रेले परियोजनाबाट संचालित बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनमा लागेका किसानलाई प्राविधिक सहयोग देखि विभिन्न सहयोग गर्दै आएको बताउँदै अन्य सहयोग आवश्यक परे परियोजनाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तीन दिन सम्म संचालन भएको तालिममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका पशु विकाश अधिकृत जगदेव राउत, मन्थली नगरपालिकाका पशु प्राविधिकहरु मुकुन्द कुमार खड्का, रोहीणीराज चापागाइँ र मिना कुमारी तामाङले बाख्रा पालक किसानहरुलाई व्यवसायिक बाख्रा पालनको बारेमा जानकारी गराएका थिए ।

सोमबार देखि सुरु भएर बुधार समापन भएको तालिममा बाख्रा जोन संचालन भएको खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका गरी २२ जना अगुवा किसानहरुको सहभागिता रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका सूचना अधिकारी बेदराज काफ्लेले जानकारी दिए ।

समाचार का थप समाचार
तीन दिने बाख्रा पालन तालिमः ‘व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने रहेछ’– किसान | नेपाल किरण